रंगेली–५ का किसानद्वारा धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनको माग, वडा अध्यक्षलाई ज्ञापनपत्र बुझायाे रंगेली (मोरंग) ।
नेपाल सरकारले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनको माग गर्दै रंगेली नगरपालिका–५ का किसानहरूले शुक्रबार वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन्।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटो धान (मकईया जात) प्रतिक्विन्टल रु ३६२८.३३ र पातलो धान (सादा/मंसुली जात) प्रतिक्विन्टल रु ३४६३.८१ निर्धारण गरे पनि स्थानीय तहमा मूल्य कार्यान्वयन नहुँदा किसान ठगिँदै आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
किसानहरूले भनेका छन्— “धानको मूल्य व्यापारीहरूको मनोमानीमा चलिरहेको छ। उत्पादन लागत धानको बिक्री मूल्यभन्दा धेरै भइरहेको छ।
सरकारले निर्धारण गरेको मूल्य तत्काल लागू हुनुपर्छ र खरीद प्रक्रिया सहज बनाइनुपर्छ।” ज्ञापनपत्र बुझ्दै रंगेली–५ का वडा अध्यक्षले किसानहरूको माग जायज रहेको बताउँदै यसको सम्बन्धित निकायसँग तत्काल पहल गरिने प्रतिबद्धता जनाए।
किसानहरूको यो आन्दोलनले कृषि उपजमा सरकारले तोकेको मूल्य स्थानीय तहमा किन लागु हुन सकिरहेको छैन भन्ने प्रश्न उठाएको छ।
किसानहरूले समर्थन मूल्य कार्यान्वयन नगर्ने व्यापारी र ढिलासुस्ती गर्ने निकायविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनी पनि दिएका छन्। #op